April 20, 2024, Saturday
Nepal 1:37:26 pm

पदाधिकारीका प्रत्यासी २ सहित ५७ जनाले उम्मेदवारी फिर्ता लिए

The Nepal Weekly
December 12, 2021

२०७८ मंसिर २६ गते, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जना प्रत्यासीले मनोनयन फिर्ता लिएका छन् ।
ती मध्ये पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । उम्मेदवारी दर्ता गरेकाहरुलाई आईतबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो ।
उक्त समयमा सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपाने शेखर कोइरालालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन । त्यसैगरी सहमहामन्त्रीमा उम्मेदवारी दिएका सुरेन्द्र चौधरीले शेरबहादुर देउवा प्यानलका सहमहामन्त्रीलाई समर्थन गरेका छन् ।
उम्मेदवारी फिर्ता लिने ५५ केन्द्रीय सदस्य भने प्यानल स्पष्ट नभएका तर स्वतन्त्र प्रकृतिका छन् । उम्मेदवारी फिर्ताको प्रक्रियापछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनको तयारी गरेको छ ।
निर्वाचन समितिका अनुसार अब एक सभापति पदमा ५ जना प्रत्यासी, दुई उपसभापति दुई पदमा सात जना, दुई महामन्त्री पदमा ६ जना र आठ सहमहामन्त्री पदमा १९ जनाको उम्मेदवारी कायम रहेका छन् ।
नेतृत्व चयनका लागि मतदान प्रक्रिया सोमबार विहान आठ बजे शुरु हुने कार्यतालिका तय गरिएको छ ।